जेलबाट छुटेपछि विराटनगरका मिटरब्याजी ‘मन्टु’ले मच्चाए आतंक, हुलाकबाट पत्र पठाएर धम्की
काठमाडौं - चक्रिय ब्याजमा लगानी गरेर मोटो रकम असुल्ने विराटनगरका मिटरब्याजी सञ्जयप्रसाद रौनियारले जेलबाट छुटेपछि आतंक मच्चाएका छन्।
‘मन्टु’ भनेर चिनिने रौनियारले जेलबाट छुटेपछि पुरानै शैलीमा सर्वसाधरणलाई धम्की दिएर पैसा माग्ने गरेका हुन्। उनले पैसा नदिए कारबाहीको त्रास देखाउने गरेका छन्।
मोरङ जिल्ला अदालतबाट ठगी र आपराधिक लाभको मुद्दामा सफाइ पाएर रौनियार २०७९ जेठ ९ गते छुटेका थिए। जेलबाट छुटेको केही वर्षपछि उनले गाउँका सर्वसाधारणलाई हुलाकमार्फत् धम्कीपूर्ण चिठी पठाएका छन्।
पीडितका अनुसार मन्टुलाई साँवा-ब्याज गरी तिर्नुपर्ने भन्दा बढी बुझाएर जग्गा फिर्ता गरिएको थियो। तर, फेरि मन्टुले अझै पैसा तिर्न बाँकी छ भन्दै पत्र पठाएर त्रास फैलाइरहेको विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी पीडितले गुनासो गरे।
हुलाकमार्फत् पत्र पठाउने र भनेजतिको पैसा नदिए प्रहरी प्रशासन लगाएर कानुनी कारबाही गर्ने धम्की मन्टुले दिने गरेको मोरङको सुनवर्षी नगरपालिका-४ का अमितकुमार यादवले बताए।
अमितका बुवा महावीरले मन्टुसँग ६ वर्षअगाडि एक बिघा १ कठ्ठा १५ धूर जग्गा राजीनामा पास गरेर दुई लाख रुपैयाँ ऋण लिएका थिए। मन्टुसँग लिएको दुई लाखको ब्याज र साँवा गरेर २० लाख रुपैयाँ तिरेका थिए।
तर, मन्टुले अझै २० लाख रुपैयाँ दिएपछि मात्रै महावीरको जग्गा फिर्ता गरिदिने बताए। त्यसपछि महावीरसहित मन्टुबाट मिटरब्याज पीडित भएका १७ जनाले मोरङ प्रहरीमा ठगी र अपराधिक लाभ लिएको भन्दै जाहेरी दिएका थिए। २९ मंसिर २०७७ मा मोरङ प्रहरीले मन्टुलाई पक्राउ गर्यो।
मोरङ प्रहरीले अनुसन्धान पूरा गरेपछि १३ माघ २०७७ मा मन्टुविरूद्ध मुद्दा दायर भयो। मोरङ प्रहरीको अनुसन्धानबाट मन्टुले १७ जना सर्वसाधरणलाई ९२ लाख ८८ हजार रूपैयाँ कर्जा दिएर २ करोड ७० लाख ३१ हजार रुपैयाँ असुली गरेको खुलेको थियो।
मिटरब्याजमा ऋण दिएको भन्दा दुई गुणा बढी रकम असुली गरिसक्दा पनि उनीहरूबाट अझै १ करोड ३८ लाख ९८ हजार ४ सय रुपैयाँ १७ जना पीडितहरूसँग माग गरेको अभियोग पत्रमा उल्लेख छ।
मन्टुले १७ जना सर्वसाधरणलाई विभिन्न मितिमा ‘ठगी’ र अपराधिक लाभ लिएको पुष्टि भएपछि १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बिगो, दुवै मुद्दामा ७ वर्ष कैदको मागदाबी लिएर मुद्दा दायर भयो। २०७७ माघ २० मन्टु मोरङ कारागार चलान भए।
कारागार गएपछि फैसला हुनुभन्दा अगाडि बकपत्र भयो। त्यसबेला मन्टुविरुद्ध उजुरी दिने १७ जना सर्वसाधरणलाई उनले आफू जग्गा फिर्ता गर्न तयार भएको सन्देश पठाए। त्यसबेला निवेदन दिने र मन्टुबीच जग्गा फिर्ता गरिदिने आन्तरिक छलफल भयो। मन्टुले सहमतिको पत्रमा हस्ताक्षर गर्नका लागि श्रीमती ज्योती रौनियारलाई अख्यितारी दिए।
वडा कार्यालयमा निवेदन दिने १७ जना र मन्टुको तर्फबाट श्रीमती ज्योतिले निवेदकहरुलाई नै जग्गा बिक्री गर्ने सहमति २०७७ चैत ८ गते गरिन्। मन्टुको नाममा रहेको जग्गा १७ जना निवेदकले पैसा दिएपछि फिर्ता गरिदिने सहमति बन्यो।
मन्टु त्यसबेला पुर्पक्षका लागि थुनामा रहेकोले उनको श्रीमती रौनियारलाई मालपोत कार्यालय विराटनगरमा पैसा दिएपछि जग्गा आफ्नो नाममा आएको पत्रकार सम्मेलनमा अमितकुमार यादवले बताए।
‘यसरी जग्गा फिर्ता ल्याएपछि अहिले मन्टुले हुलाकमार्फत् २५ लाख ५० हजार रुपैयाँ माग्ने गरेको छ। नदिए कानुन अनुसार कारबाही गर्ने भन्दै धम्कीपूर्ण पत्र पठाएको छ,’ पत्रकार सम्मेलनमा उनले भने।
मन्टुले जेठ १४ गते बुधबार पत्र पठाएको उनले बताए। ‘जेलबाट छुटेपछि फेरि मन्टुको पुरानो मिटरब्याज र असुली धन्दा चलाउन थालेका रहेछन्। त्यसबेला मन्टुविरुद्ध उजुरी दिने १७ जनामध्ये ११ जनालाई पत्रचार गरेर पैसा माग्दैछन्। यो गैरकानुनी धन्दाको विरुद्ध हामी फेरि पीडितहरू संगठित भएर न्यायको खोजीमा जानेछौं,’ उनले भने।
जेलबाट मन्टु छुटेपछि प्रहरी प्रशासान आफ्नो पक्षमा रहेको भन्दै भनेजति पैसा नदिए थुनामा पठाउने उनले धम्की दिएको विराटनगर-८ का गणेश रायले बताए।
मन्टुले हुलाकमार्फत् पत्रचार गरेर २५ लाख रुपैयाँ मागेको उनले बताए। गणेशका अनुसार उनका ज्वाइँ महानन्द रायले मन्टुसँग एक कठ्ठा जग्गा र टिनको घरसहित राजीनामा पास गरेर २ लाख ५० हजार रुपैयाँ लिएका थिए। विभिन्न मितिमा मन्टुलाई ज्वाइँले पाँच लाख रुपैयाँ दिए। पछि मन्टु जेल गएपछि उनकी श्रीमतीलाई २५ लाख रुपैयाँ दिएर एक कठ्ठा जग्गा र घर आफ्नो नाममा ल्याएको गणेश रायले बताए।
‘मन्टु जेलबाट छुटेर आएपछि ज्वाइँ महानन्दलाई घरभाडाबापत ९ लाख रुपैयाँ नबुझाएको भन्दै मुद्दा हाले। मोरङ अदालतले ९ लाख रुपैयाँ तिनुपर्ने पैसला पनि गर्यो। तर, अदालतले भनेजति पैसा तिर्न नसकेपछि ज्वाइँ महानन्द राय १३ असोज २०८१ मा जेल गए। उनलाई बिगो बराबरको दुई वर्ष कैद सजाय भयो। जेल बसेको एक महिनापछि ज्वाइँको मृत्यु भयो,’ पत्रकार सम्मेलनमा गणेशले भने, ‘मन्टुले अदालतमा मुद्दा दिएपछि ज्वाइँ तनावमा रहनुभएको थियो। मन्टुले दिएको तनावले ज्वाइँको मृत्यु भयो।’
धनपालथान-१ नोचाका गुल्जार मियाँले आफ्नो बाबु इनुस मियाँको नाममा मन्टुले पठाएको पत्र आफूले नलिएको बताए। ‘उनले भनेजति पैसा दिएपछि जग्गा बुवा इनुस मियाँको नाममा आएको छ। अहिले फेरि मन्टुले दुःख दिने नियतले पत्रचार गरेकोले हामीले नबुझेका हौं,’ उनले भने।
मन्टुले पठाएको पत्रमा सबैलाई एकै प्रकारको भाषा प्रयोग गरिएको छ।
मन्टुले पत्रचार गरेको मोरङको धनपालथान, जहदा, रंगेली, सुनवर्षी विराटनगरका विभिन्न गाउँका बासिन्दा हुन्। उनीहरूले मन्टुसँग वैदेशिक रोजगारीको, घरायसी समस्या वा छोरा–छोरीलाई पढाउन पैसा आवश्यक पर्दा ऋण लिने गर्थे।
मन्टु भनिने रौनियारले भने आफूले कसैलाई दुःख दिने नियतले नभएर बिक्री गरेको जग्गाको पैसा माग्न पत्र पठाएको बताएका छन्। उनले आफूमाथि लागेको अरू सबै आरोप भने अस्वीकार गरेका छन्। उनले भने, ‘म जेलमा हुँदा जग्गा बिक्री भएको थियो, तर त्यसको पैसा अहिलेसम्म पाएको छैन। मैले चिठी पठाएर धम्की दिएको होइन, आफ्नो पैसा मागेको मात्रै हो।’
उनको दाबी अनुसार सम्बन्धित व्यक्तिहरूले जग्गा बिक्री गर्दा खातामा पैसा राख्ने भनेका थिए, तर अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन। ‘यदि पैसा दिइएन भने कानुनी प्रक्रिया अगाडि बढाउँछु,’ उनले भने, ‘कारागारमा भएको बेला जग्गा बेचेको र त्यतिबेलाको सहमति अनुसार मेरो खातामा पैसा नहालिदिएका कारण अहिले मागेको हुँ। मैले बिक्री गरेको जग्गाको एक पैसा पनि पाएको छैन, त्यही पैसा मैले खोजेको हुँ, कसैलाई धम्की दिएको छैन।’
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.