गभर्नर अधिकारीलाई पुनः नियुक्तिको आश, तर भागबन्डामा परेको छ कांग्रेसलाई
काठमाडौं, २१ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते समाप्त हुँदै छ। सरकारले २०७६ चैत २४ गते अधिकारीलाई पाँच वर्षका लागि गभर्नर नियुक्त गरेको थियो।
त्यसबेला पनि प्रधानमन्त्री केपी ओली र अर्थमन्त्रीसमेत एमालेकै थिए । अधिकारीको कार्यकाल सकिने बेलामा पनि संयोगले ओली नै प्रधानमन्त्री छन् । अर्थमन्त्री विष्णु पौडेल एमालेकै उपाध्यक्ष हुन् । अधिकारी स्वयं पनि एमालेका होल टाइमर कार्यकर्ता हुन् ।
गभर्नरको कार्यकाल सकिनु एक महिना अगाडि नयाँ गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा भए पनि सरकारले हालसम्म सिफारिस समिति बनाएको छैन। सिफारिस समिति बनाएर गभर्नर नियुक्ति प्रक्रिया अगाडि नबढाएकाले गभर्नर अधिकारी पूर्ण बिदामा बस्ने मनस्थितिमा छैनन्।
उनी चैत ५ गतेदेखि १५ गतेसम्म १० दिन फोर्स बिदामा बस्दैछन् । बिदा सकेर पुनः फर्किने र आफ्नो कार्यकालको अघिल्लो दिनसम्म कार्यलयमा जाने मनस्थितिमा गभर्नर अधिकारी रहेको उनी निकट स्रोतहरूको भनाइ छ । चैत २२ गतेसम्म अधिकारी राष्ट्र बैंक जाने र पुनर्नियुक्ति नभएमा २४ गते राष्ट्र बैंकले बिदाइ गर्ने तयारी रहेको बताइएको छ। गभर्नर अधिकारी बिदामा रहेको समयमा डेपुटी गभर्नर डा. निलम ढुंगानाले कायममुकायको जिम्मेवारी पाउने छिन्।
अधिकारीअघिका केही गभर्नर र अन्य सार्वजनिक नियुक्त पाएका केही संस्था प्रमुख कार्यकाल समाप्त हुन एक महिनाअघि बिदा बस्ने गरेका थिए। तर, अधिकारी भने कार्यकाल सकिनुअघिको एक महिने बिदाभन्दा राष्ट्र बैंकले नै व्यवस्था गरेको वार्षिक अनिवार्य बिदा बस्न लागेका हुन् ।
यसपटक कांग्रेस र एमालेको संयुक्त सरकार छ । दुई पार्टीबीच महत्वपूर्ण संवैधानिक अंग र निकायमा भागबन्डाको सहमति भएको छ । स्रोतका अनुसार निर्वाचन आयोग र नेपाल धितोपत्र बोर्ड एमालेको भागमा परेको छ । धितोपत्र बोर्डमा एमालेका सन्तोषनारायण श्रेष्ठ नियुक्त भइसकेका छन् । निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेश थपलियाको कार्यकाल अन्तिम चरणमा पुगेको छ ।
कांग्रेसलाई भने नेपाल राष्ट्र बैंकको गभर्नर र विमा समिति अध्यक्ष भागमा परेको छ । विमा समितिमा कांग्रेस निकट शरद ओझा नियुक्त भइसकेका छन् । गभर्नरको दौडमा ज्ञानेन्द्र ढुंगाना, निलम ढुंगाना, रामेश्वर खनाल, चिन्तामणि देवकोटा, बमबहादुर मिश्र, डा.गुणाकर भट्ट, प्रकाशकुमार श्रेष्ठ, सुशील भट्टलगायत छन् । यसमध्येमा कांग्रेस सभापति शेरबहादुर देउवाले इच्छाएको व्यक्ति गभर्नर बन्ने स्रोतको दाबी छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.