रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी गरिएको छ।
चितवन प्रहरीले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रवि लामिछानेसहित ३१ व्यक्ति र ७ कम्पनीविरुद्ध पूरक प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा यसअघि पनि अनुसन्धान प्रतिवेदन बुझाइएको थियो।
अनुसन्धान प्रतिवेदन अनुसार सहकारीबाट विभिन्न कम्पनीमा ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ लगानी विस्तार गरेको पाइएको छ।
गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ, नेचर हर्ब्स इन्टरनेसनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७ रुपैयाँ, जिबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ रुपैयाँ, स्प्रिङ उड रियल स्टेटमा ६ करोड ८१ लाख ८८ हजार ७०३ रुपैयाँ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ रुपैयाँ लगानी भएको देखिएको छ।
सहकारीका कुल ६,३३४ बचतकर्ताको जम्मा बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रुपैयाँ रहेको छ भने सहकारीको कुल दायित्व पुँजी ६५ करोड १६ लाख ७१ हजार ७१२ रुपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। सहकारीले कर्जा लगानी गरेकामा ५६ करोड २२ लाख ५० हजार ११५ रुपैयाँ फिर्ता लिन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध निवारण ऐन २०७० अनुसार प्रतिवादीहरूलाई कानुनी कारबाहीको माग गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवेदनको अध्ययनपछि थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।
लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट मुक्त भएका थिए।
लामिछानेलाई ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरिएको छ। कास्की र काठमाडौं जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमा लामिछाने निर्दोष छन् भन्ने नदेखिएकाले धरौटी मागेको थियो।
कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, रुपन्देहीको सुप्रिम र पर्साको सानोपाइला सहकारी संस्थाको रकम ठगेको आरोप लामिछानेसहितलाई छ।
यी सबै सहकारीका मुख्य सञ्चालक जिबी राई हुन्। उनी फरार छन्। उनका पार्टनर छविलाल जोशी, रवि, कुमार रम्तेललगायत हुन्। नेचर हर्ब्स जिबी र छविको संयुक्त लगानीको कम्पनी हो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.