पति हिरासतमा हुँदा केही मिडियाले पुरुषार्थ देखाए, झुटो प्रचार गरेर धर्म छोडे: निकिता पौडेल

मंगलबार, २ पुष २०८१, १२:८ PM
post-image

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा रहँदा उनकी पत्नी निकिता पौडेलले सञ्चारमाध्यमले गरेका आरोपप्रति आपत्ति जनाउँदै तथ्य प्रमाणित गर्न चुनौति दिएकी छिन्।

निकिताले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफूलाई लक्षित गरेर झुटा र अप्रमाणित आरोप लगाइएको बताएकी छन्। उनले रविले सहकारीबाट ऋण लिएको आरोप प्रमाणित गर्न चुनौति दिँदै अहिलेसम्म कुनै प्रमाण नआएको उल्लेख गरिन्। उनले भनेकी छन्, “मेरो खातामा कति पैसा छ भनेर अनुमान लगाउनुभन्दा सोधेको भए बताउने थिएँ। सम्पूर्ण बैंकिङ विवरण प्रहरीलाई बुझाइसकेकी छु। मिडियाले धर्म नछोडेको भए तथ्यांक एउटै हुनुपर्ने हो।”

उनले यो विषयलाई लिएर बुवासँग भएको रमाइलो कुराकानीको प्रसङ्ग पनि शेयर गरिन्। उनका अनुसार, “बुवाले बिहानै फोन गरेर हाँस्दै सोध्नुभयो, ‘तिमीसँग त १५, २५, ५० करोड रहेछ भनेर मिडियाले भनेको छ। मलाई अलिकति देऊ न।’ मैले पनि हाँस्दै भनेँ, ‘त्यत्रो पैसा भएरै त होला, ४ करोडमा किनेको घरको किस्ता तिरिरहेको छु।’”

निकिताले मिडियाको कार्यशैलीलाई संवेदनहीन भन्दै यसप्रति दया लागेको बताइन्। उनका अनुसार, श्रीमान् हिरासतमा रहेको बेला उनीमाथि गरिएको 'पुरुषार्थ' समाजले चुपचाप हेरेकोमा आफू आश्चर्यचकित भएको बताइन्।

यस विषयमा समाचार लेख्दा मिडियाले धर्म छोडेको आरोप लगाउँदै उनले भनेकी छन्, “मिडियाले झुटा खबर फैलाएर समाजमा भ्रम सिर्जना गरिरहेको छ। यस्तो संवेदनशील विषयमा यसरी गैरजिम्मेवार व्यवहार किन देखाइएको होला भनेर सोचिरहेकी छु।”

यस्तो छ निकिताले लेखेको स्टाटस

आज बिहानै बुवाले फाेनमा हाँस्दै सोध्नु भयो, 'तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ कराेड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति? अलिकति मलाई पनि देऊ न।'
मैले पनि हाँस्दै भने, 'त्यत्राे पैसा भएरै त हाेला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।'
बुवा-छाेरीकाे कुराकानीकाे सन्दर्भ थियाे, अनुसन्धानमा रहेको विषयमा भएको 'मिडिया ट्रायल'काे।
कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछाेडेकाे भए बैंकिङ काराेवारकाे अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने हाेइन र? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु! समाचार लेख्नेमाथि दया लागेर आउँछ।
खाता मेरो हो। यति-उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेकाे भए बताइदिन्थे नि! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको 'पुरुषार्थ' अगाडि समाज मुकदर्शक बनेकाेमा झनै आश्चर्यमा छु।
मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}