यौन क्षमता बढाउने भन्दै नक्कली औषधी बेचबिखन गर्ने तीन जना पक्राउ
काठमाडौं - यार्सागुम्बाट उत्पादित भन्दै नक्कली औषधीजन्य सामग्री बेचबिखन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-२६ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने २७ वर्षीय सुजन खड्का र ओखलढुंगा सिद्धिचरण नगरपालिका-७ घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने ४२ वर्षीय डिल्लीप्रसाद घिमिरे रहेका छन्।
गौतम र खड्कालाई मध्यपुर ठिमी नगरपालिका-२ गठ्ठाघर र घिमरेलाई महालक्ष्मी नगरपालिका-८ लुभु ललितपुर टाउन प्लानिङस्थित बायो फुड्स नेपाल प्रालिबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
उनीहरूलाई विभिन्न मितिमा पक्राउपछि बिहीबार ब्युरोले सार्वजनिक गरेको हो। उनीहरूले यार्सागुम्बासहित सताबरी, अश्वगन्ध, सिलाजितजस्ता जडिबुटीहरूको मिश्रणबाट तयार पारिएको भन्दै लामो समयदेखि बजारमा नक्कली औषधी बिक्री-वितरण गर्ने गरेको पाइएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।
उक्त सामग्री हिमाली जडिबुटी रहेको, त्यसले यौन क्षमता बढाउने, शक्ति बढाउने र स्टामिना बढाउने भन्दै तिनै जनाले बजारमा बिक्री गरिरहेको पाइएको छ। तर, ती सामग्री परीक्षण गर्दा नक्कली रहेको पुष्टि भएपछि प्रहरीले कारबाही थालेको बोगटीले बताए।
उनीहरूले शिखर यार्सा पावर, हिमाली यार्सा प्लस, यार्सागुम्बा गोल्ड, यार्सा किङ, हिमाली यार्सागुम्बा, यार्सागुम्बा किङ, यार्सागुम्बा किङ प्लस, यार्सागुम्बा प्रिमियम, सुगर कन्ट्रोलर गाइम्निमा, पायल्स निको आयल, चाचरी आयल, बिउटी सुपरबा हर्बल आयल लगायत विभिन्न नामका बट्टामा त्यस्ता सामग्री बेचबिखन गर्ने गरेका थिए।
‘ती सामग्रीका क्याप्सुल देखाएर फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालको माध्यमबाट आकर्षक र अश्लील विज्ञापन गर्ने गरेको अनुसन्धानले देखाएको छ,’ बोगटीले भने, ‘बृद्वदेखि युवा समेतले खाना मिल्ने, कुनै साइड इफेक्ट नभएको, डाक्टरको सिफारिस नचाहिने भनी उल्लेख गरेर सर्वसाधारणमा भ्रम सिर्जना गरेको पाइएको छ।’
उनीहरूले एक बट्टाको दुई हजारदेखि पच्चीस सय रुपैयाँसम्म मूल्य राखेका थिए। उनीहरूले गठ्ठाघरमा एउटा घर भाडामा लिएर स्टोर नै सञ्चालन गरिरहेको पाइएको छ।
घिमिरे लुभु ललितपुरमा बायो फुड्स नेपाल प्रालि नामक फुड्स सप्लिमेन्ट फ्याक्ट्रीका सञ्चालक रहेको बोगटीले बताए। लुभुको फ्याक्ट्री र गठ्ठाघरको स्टोरबाट लाखौंका यार्साजन्य भन्दै भन्दै बिक्री गरिने नक्कली सामग्री बरामद भएको छ।
यार्सा प्लस प्रतिबट्टा २५ सयका दरले १०७० बट्टा बरामद भएको छ। त्यसको मूल्य २६ लाख ७५ हजार हुन आउँछ।
यस्तै, यार्सा किङ ११ लाख ६५ हजार, प्रोस्टेट केयर दुई लाख, पायल्स निको तेल दुई लाख ४४ हजार, सुगर कन्ट्रोलर १३ लाख ६ हजार बराबरको सुगर कन्ट्रोलर, चार लाख ४५ हजार मूल्य पर्ने चाचर आयल लगायत ६५ लाख २८ हजार २५० रुपैयाँ मूल्यको सामग्री बरामद भएको छ।
‘पक्राउ परेकामाथि अनुसन्धान जारी छ, कसैले यस्ता सामग्री औषधी भन्दै बिक्री गरिरहेको भए जानकारी गर्न सर्वसाधारणलाई अनुरोध गरेका छौं,’ बोगटीले भने।
सामाजिक सञ्जालमा औषधी भन्दै प्रचार-प्रसार गरिने यस्ता सामग्री प्रयोग गर्नुअघि राम्ररी बुझ्न ब्युरोले अनुरोध गरेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.