स्वर्णलक्ष्मी सहकारीको ठगीमा बयान लिन रवि लामिछानेलाई काठमाडौं ल्याइयो
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पोखराबाट काठमाडौं ल्याइएको छ।
उनलाई स्वर्णलक्ष्मी सहकारी संस्था कालिमाटीको रकम ठगीबारे अनुसन्धान गर्न काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो।
सरकारी वकिल कार्यालयमा उपस्थित गराएपछि लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।
लामिछानेलाई बिहीबार साँझ बुद्ध एयरको उडानमार्फत काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
स्वर्णलक्ष्मी सहकारी संस्थासँग सम्बन्धित रकम अपचलन तथा ठगीको मुद्दामा थप प्रमाण र तथ्य जुटाउन लामिछानेसँग शुक्रबारदेखि बयान लिइने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनलाई ३-४ दिन बयान गराएर पुन: पोखरा लगिनेछ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कालिमाटीको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा उनलाई बयान लिन लागिएको हो।
यसअघि पूर्वडिआइजी छविलाल जोशीसँग बयान लिइएको थियो।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छ। पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवा: र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जिबी राई भने फरार छन्।
अहिले सहकारी ठगीबाहेक जिबी, रवि र छविलगायतविरूद्ध चार वटा कसुर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ। ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर र संगठित अपराधतर्फको अनुसन्धानमा प्रहरीले ९० दिनसम्म थुनामा राख्न सक्ने कानुनी व्यवस्थाले फरार जिबीबाहेक रवि-छविहरूको हिरासत यात्रा लम्बिने देखिन्छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.