तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु
काठमाडौँ । तिहार सकिएसँगै राजधानीलगायत तराइका जिल्लामा छठको तयारी सुरु भएको छ ।
पशुपति क्षेत्रस्थित गुह्येश्वरीको बागमती किनारमा आकर्षक रुपमा छठ घाट निर्माण कार्य सुरु भएको छ।गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजा स्थल निर्माण भइरहेको छ। यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजा स्थल निर्माण सुरु गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ ।
तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउने लगायत काम पनि भइरहेको छ । एउटा छठ घाट पूजाका लागि एक हजार एक सय समितिले शुल्क लिने गरेको छ ।
छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको हो। विगत वर्षमा पशुपति क्षेत्र विकास कोषले पनि गुह्येश्वरी गौरीघाट छठ पूजा समितिलाई ६ लाख सहयोग गर्ने गरेको थियो। यस वर्ष पनि सहयोग गर्ने वाचा गरेको समितिले जनाएको छ ।
यसैगरी कमलपोखरी, नागपोखरी लगायत स्थानमा पनि छठ मनाउन छठ घाट निर्माण भइरहेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ मनाइन्छ। छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ। छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ।
कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन्। यसलाई पनि छठको एउटा विधिका रुपमा लिइन्छ। बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन्। यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ।
भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ। कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको छ।अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रुपमा समेत उपयोग गरिँदै आएको छ। पछिल्लो समय काठमाडौँलगायत पहाडी जिल्लामासमेत धुमधामका साथ छठ पर्व मनाउन थालिएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.